


तनहुँ, २५ भदौ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित मानव निर्मित नारेश्वरतालमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्राकृतिक सौन्दर्य र शान्त वातावरणका कारण पछिल्लो समय ताल अवलोकन तथा घुमफिरका लागि आउने पर्यटकको संख्या बढ्दै गएको हो।
तालमा पर्यटकको आकर्षण बढेसँगै उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै तालको मुख्य भागमा रेलिङ बार निर्माण तथा व्यवस्थापनको काम भइरहेको ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरैले जानकारी दिए ।
ताललाई थप व्यवस्थित र सुरक्षित बनाउँदै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको उनले बताए। रेलिङ निर्माण भएपछि ताल अवलोकन तथा घुमफिरका लागि आउने पर्यटकलाई थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
नारेश्वरतालको संरक्षण, सौन्दर्यीकरण तथा आवश्यक पूर्वाधार विकास गर्न सके यस क्षेत्रलाई व्यास नगरपालिकाकै आकर्षक आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने स्थानीयको विश्वास छ।