


काठमाडौं, २५ भदौ । तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले विपद्का समयमा प्रविधि र उपकरणसँगै दृढ इच्छाशक्ति, प्रभावकारी समन्वय र आशा नै जीवन बचाउने सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद न्यौपानेले भदौ १२ गतेदेखि बिहीबार बिहानसम्म त्रिशूली–३ ए र चिलिमे जलविद्युत आयोजनामा उद्धार तथा सहजीकरणका लागि आफू निरन्तर खटिएको जानकारी दिए।
उनका अनुसार कठिन तथा चुनौतीपूर्ण परिस्थितिका बीच पनि उद्धार टोलीले निरन्तर प्रयास जारी राख्दा त्रिशूली–३ एबाट दुई जनाको जीवित उद्धार गर्न सफल भएको छ।
न्यौपानेले अहिले चिलिमे जलविद्युत आयोजनामा पनि उद्धारको आशा पलाएको बताए। सुरुङभित्र फसेकाहरूको उद्धारका लागि कठिन परिस्थितिका बाबजुद प्रयास जारी रहेको उल्लेख गर्दै उनले आशा नमार्न आग्रह गरे।
‘विपद्मा प्रविधि र उपकरण आवश्यक हुन्छन्, तर त्यससँगै दृढ इच्छाशक्ति, समन्वय र आशा पनि उत्तिकै महत्वपूर्ण हुन्छ,’ सांसद न्यौपानेले भने, ‘यिनै कुराले कठिन अवस्थामा पनि जीवन बचाउने सम्भावना कायम राख्छ।’
उनले उद्धार तथा खोजी कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राविधिकसहित सम्पूर्ण उद्धारकर्मीहरूको निरन्तर प्रयासको प्रशंसा गर्दै प्रभावकारी समन्वयका साथ उद्धार कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।