


तनहुँ, २७ भदौ । आँबुखैरेनी गाउँपालिकाले आर्थिक रूपमा विपन्न नागरिक तथा विद्यार्थीलाई जटिल शल्यक्रियासहित आवश्यक स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले आर्थिक अभावकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने बताएका छन्। उनले स्वास्थ्य र जीवनको मूल्य व्यक्तिको आर्थिक हैसियतका आधारमा फरक नहुने भन्दै विपन्न नागरिकलाई उपचारको पहुँच सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए।
“पैसा नभएकै कारण कसैको उपचार रोकिनु हुँदैन। पैसाको अभावमा कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने कुरामा गाउँपालिका प्रतिबद्ध छ,” अध्यक्ष चुमानले भने।
उनका अनुसार निःशुल्क उपचार सेवा केवल स्वास्थ्य उपचारमा सीमित नभई आर्थिक रूपमा कमजोर परिवारमा आशा जगाउने प्रयाससमेत हो। यसबाट उपचार खर्चको बोझमा रहेका परिवारलाई राहत पुग्नुका साथै विद्यार्थीहरूले स्वास्थ्य समस्याको चिन्ता बिर्सेर आफ्नो भविष्य र सपनामा केन्द्रित हुन सक्ने उनले बताए।
आँबुखैरेनी अस्पताल गाउँपालिकाको आफ्नै आन्तरिक स्रोतबाट सञ्चालन हुँदै आएको अध्यक्ष चुमानले जानकारी दिए। गाउँपालिकाले विपन्न नागरिक तथा विद्यार्थीको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै आवश्यकताअनुसार जटिल शल्यक्रियासम्मको उपचार निःशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ।