


तनहुँ, ३० भदौ । व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा रहेको झाडी लागुऔषध दुर्व्यसनको केन्द्र बन्दै गएको विषय सार्वजनिक भएपछि मंगलबार उक्त क्षेत्रमा सरसफाइ गरिएको छ।
सामाजिक अभियन्ता सुदीप गफ्फारले मन्दिर क्षेत्रमा रहेको झाडीमा युवाहरू जम्मा हुने र कुलतमा फस्ने गरेको भन्दै सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएका थिए । उनले युवाहरू कुलतमा फस्ने जोखिम बढेकाले उक्त क्षेत्रमा तत्काल सरसफाइ गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । त्यस ठाउँमा कार्पेट समेत ओछ्याइएको थियो ।
उजागरपछि मंगलबार मन्दिर क्षेत्रको झाडी हटाएर सरसफाइ गरिएको हो।
मन्दिर तथा सार्वजनिक क्षेत्रलाई व्यवस्थित र सुरक्षित राख्न सके युवाहरूको गलत गतिविधिमा संलग्न हुने सम्भावना न्यूनीकरण गर्न सकिने स्थानीयको अपेक्षा छ। अभियन्ता गफ्फारले पनि सार्वजनिक स्थललाई खुला, सफा र सुरक्षित बनाउँदै युवालाई कुलतबाट जोगाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।