


काठमाडौं, ३० भदौ । नेपाली सेनाले भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। सेनाका अनुसार बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धार, राहत वितरण, सडक तथा पुल सञ्चालन र स्वास्थ्य सेवाका लागि ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
नेपाली सेनाको हवाई साधनमार्फत हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १७७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८९४ नेपाली र २८३ विदेशी रहेका छन्।
टनेलभित्र फसेकाको खोजी तथा उद्धारका लागि समेत विभिन्न आयोजनामा संयुक्त टोली परिचालन गरिएको सेनाले जनाएको छ। चिलिमे हाइड्रोको टनेलमा पानी आइरहेको होलबाट उद्धार टोली करिब १३० मिटरसम्म प्रवेश गरी खोजी गरेको छ। एक्स्काभेटर र लोडर प्रयोग गरी भग्नावशेष हटाउने कामसमेत भइरहेको छ।
त्यस्तै, माथिल्लो त्रिशूली–१ को अडिट–३ मा उद्धार टोली करिब ६०० मिटरभित्र पुगेर खोजी गरेको छ। त्रिशूली–३ए र त्रिशूली–३बी क्षेत्रमा पनि खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोजी भइरहेको छ। स्याफ्रुबेँसी क्षेत्रमा तीनवटा समूह परिचालन गरिएको छ। दुर्गम तथा सडक सम्पर्कविहीन क्षेत्रमा राहत सामग्री पुर्याउन ड्रोनसमेत प्रयोग गरिएको छ। ड्रोनमार्फत नुवाकोटमा १६ हजार १३८ किलो र रसुवामा ५ हजार ८६१ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।
यसैबीच, त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज ४३ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म ३ हजार ८२७ जनाले उक्त सेवा प्राप्त गरेका छन्।
धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतलबजारमा बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कडा चट्टान फुटाउने काम भइरहेको छ। त्यहाँ ब्लास्टिङमार्फत सडक सञ्चालनको प्रयास जारी रहेको नेपाली सेनाले जनाएको छ।