


तनहुँ, ३१ भदौ । मुग्लिन–पोखरा सडक खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि तनहुँ प्रहरीले चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा बुधबार बिहान ४ बजेदेखि ७ बजेसम्म चालकलाई सडकको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धमा सम्झाइबुझाइ गरिएको हो।
त्यसक्रममा २८ वटा दुईपाङ्ग्रे, ३४ वटा साना चारपाङ्ग्रे र ५० वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको प्रहरीले जनाएको छ।
सडकको अवस्था र मौसमअनुसार सुरक्षित गतिमा सवारी चलाउन तथा लेन अनुशासन र ट्राफिक नियम अनिवार्य रूपमा पालना गर्न चालकलाई आग्रह गरिएको छ।