


काठमाडौं, २ असोज । बाढी तथा विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्रता दिएको छ। २०८३ आश्विन २ गते साँझ ६ बजेसम्म नेपाली सेनाको हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १९५ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ३ हजार ९१२ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
यसैगरी, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा खोज तथा उद्धार कार्य जारी रहेको छ। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले खोजी गर्ने क्रममा छडको जालीमा अल्झिएको अवस्थामा यसअघि फेला परेका ६ शवपछि थप ७ वटा शव फेला पारी टनेलबाहिर निकालिएको छ। टनेलमा खोजी कार्य अझै जारी रहेको नेपाली सेनाले जनाएको छ।
त्रिशूली–थ्रिएको टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले खोजी गरिरहेको छ। यस्तै, त्रिशूली–थ्रीबिको पावर हाउस क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गर्दा हालसम्म केही फेला नपरेको र खोजी कार्य जारी रहेको छ।
रसुवा र नुवाकोटका त्रिशूलीपारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायतका प्रभावित क्षेत्रमा बेस स्थापना गरी नेपाली सेनाले पैदल गस्तीमार्फत खोजी कार्य गरिरहेको छ। साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कन र सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम क्षेत्रमा ड्रोनमार्फत राहत सामग्री ढुवानी गर्ने कार्यसमेत भइरहेको छ।
नेपाली सेनाका ड्रोनमार्फत नुवाकोट र रसुवाका विभिन्न स्थानमा हालसम्म ३० हजार २७ केजी राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।
बाढीबाट प्रभावित परिवारलाई धार्मिक संस्कार तथा श्रद्धाञ्जलीका कार्यमा सहयोग गर्नुका साथै राहत वितरण र आयोजनाका अत्यावश्यक उपकरण ढुवानीमा समेत नेपाली सेनाले सहयोग गरिरहेको छ।
यसैबीच, त्रिशूली र धुन्चेमा नेपाली सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज ६ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म उक्त सेवाबाट ३ हजार ९९६ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्।
बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतल बजारको सडक खुलाउने कार्य पनि जारी छ। साथै, बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि नेपाली सेनासहित अन्य सुरक्षा फौज परिचालन भई काम गरिरहेका छन्।