छाब्दीमा श्रीराम ज्येष्ठ नागरिक समाजको भव्य उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    छाब्दीमा श्रीराम ज्येष्ठ नागरिक समाजको भव्य उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०८३, मंगलवार

    तनहुँ, ६ असोज । छाब्दीस्थित श्रीराम मन्दिर परिसरमा आयोजित आम भेलामार्फत श्रीराम ज्येष्ठ नागरिक समाजको भव्य उद्घाटन गरिएको छ। कार्यक्रममा करिब २०० जना ज्येष्ठ नागरिक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूको हक, सम्मान, संरक्षण तथा सामाजिक जीवनमा सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले समाजको औपचारिक शुभारम्भ गरिएको हो।

    कार्यक्रममा सहभागी वक्ताहरूले ज्येष्ठ नागरिकहरू समाजका अनुभवी र ज्ञानका धनी वर्ग भएको उल्लेख गर्दै उनीहरूको अनुभव, सीप र योगदानलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा जोड दिएका थिए। ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार, सामाजिक सुरक्षा तथा उनीहरूको सक्रिय सहभागिताका लागि परिवार, समुदाय र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको वक्ताहरूको भनाइ थियो।

    आम भेलामा स्थानीयवासी तथा ज्येष्ठ नागरिकहरूले समाज गठनले आफ्ना साझा समस्या, आवश्यकता र अधिकारका विषयमा सामूहिक रूपमा आवाज उठाउने वातावरण निर्माण हुने विश्वास व्यक्त गरेका थिए।

    नवनिर्मित श्रीराम ज्येष्ठ नागरिक समाजले आगामी दिनमा ज्येष्ठ नागरिकहरूको हित, सामाजिक एकता, आपसी सहयोग तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    समाजको गठनसँगै छाब्दी क्षेत्रका ज्येष्ठ नागरिकलाई एकताबद्ध गर्दै उनीहरूको अनुभव र योगदानलाई सामाजिक विकाससँग जोड्ने अपेक्षा गरिएको छ।