रास्वपामा नयाँ–पुरानो होइन, क्षमता र योग्यताको प्रतिस्पर्धा हुनुपर्छ: महामन्त्री आचार्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपामा नयाँ–पुरानो होइन, क्षमता र योग्यताको प्रतिस्पर्धा हुनुपर्छ: महामन्त्री आचार्य

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८३, बुधबार

    तनहुँ ७ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानोबीचको प्रतिस्पर्धाभन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

    रास्वपा तनहुँले आज आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताए । “नयाँ–पुरानो भन्ने कुरा रास्वपामा हुँदैन । तनहुँले पनि यही मर्मलाई अगाडि बढाओस्,” उनले भने, “तनहुँको पार्टी संरचनामा नयाँ र पुरानोबीच प्रतिस्पर्धा भन्दा पनि को अब्बल छ भन्ने कुराको प्रतिस्पर्धा होस् ।”

    उनले पार्टीभित्र व्यक्तिको क्षमता, योग्यता र योगदानका आधारमा अवसर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । “कसमा क्षमता बढी छ भन्ने कुरामा प्रतिस्पर्धा होस्,” महामन्त्री आचार्यले भने ।

    उनले पार्टी सङ्गठनलाई बलियो बनाउन आपसी विभाजन र गुटगत प्रतिस्पर्धाभन्दा सङ्गठन निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखे । नयाँ तथा पुराना दुवै सदस्यको अनुभव, क्षमता र ऊर्जालाई पार्टी निर्माणमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

    महामन्त्री आचार्यले तनहुँमा पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरणका लागि सबै तहका नेता–कार्यकर्ताबीच सहकार्य आवश्यक रहेको बताए । पार्टीलाई जनतासँग जोड्दै सङ्गठनलाई प्रभावकारी बनाउन स्थानीय तहदेखि नै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे ।

    बैठकमा जिल्लाको पार्टी सङ्गठन, आगामी कार्यदिशा तथा सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल भएको रास्वपा तनहुँका सभापति विश्वनाथ बास्तोलाले जानकारी दिए ।