


तनहुँ, ८ असोज । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८३ अन्तर्गत नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा, तनहुँको निरीक्षण तथा अनुगमन गरिएको छ।
बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एवं नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८३ समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाह सहितको टोलीले गणको निरीक्षण गरेको हो।
टोलीले गणमा सलामी ग्रहणपछि वृक्षरोपण गर्नुका साथै कार्यालय भवन तथा विभिन्न शाखा, कोत–गारद, ब्यारेक, मेश, चमेना गृह, शौचालयलगायतका संरचनाको निरीक्षण तथा अवलोकन गरेको थियो।
निरीक्षणका क्रममा एआईजी शाहले कार्यरत प्रहरी कर्मचारीलाई वर्तमान परिस्थितिअनुसार संगठनका मूल्य, मान्यता र आचारसंहितालाई आत्मसात् गर्दै जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। उनले नागरिकमैत्री तथा जनमुखी प्रहरी सेवा प्रवाहमा विशेष ध्यान दिनसमेत आग्रह गरे ।
कार्यदक्षता मूल्याङ्कनका क्रममा गणको समग्र व्यवस्थापन, कार्यसम्पादन, अनुशासन, स्रोत–साधनको प्रयोग तथा प्रहरी सेवाको प्रभावकारितालगायत पक्षको अवलोकन गरिएको जनाइएको छ।