


स्याङ्जा, ८ असोज । स्याङ्जाको भिरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
बिहीबार २०८३ साल असोज ८ गते साँझ करिब ५ बजे भिरकोट नगरपालिका–३ बजादीमा विवाह भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग.१ ज. ७६१० नम्बरको जिप दुर्घटनामा परेको हो। प्रहरीका अनुसार जिपको स्टेयरिङ लक भई घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा चालकसहित ११ जना घाइते भएका थिए। घाइतेमध्ये पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तम सिंह गुरुङलाई भिरकोट नगर अस्पतालमा उपचारका क्रममा साँझ ५ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइतेहरूलाई वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको १० जनाको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि भिरकोट नगर अस्पताल पठाएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा पोखरा महानगरपालिका–८ की ३२ वर्षीया सारा गुरुङ, बिरुवा गाउँपालिका–२ का ६३ वर्षीय खड्क गुरुङ, पुतलीबजार–१२ का ५१ वर्षीय रुमबहादुर गुरुङ, बिरुवा–२ की ४९ वर्षीया कृष्णमाया गुरुङ, बिरुवा–७ की ५५ वर्षीया केशमाया गुरुङ, बिरुवा–२ का ६० वर्षीय यमबहादुर गुरुङ, सोही स्थानका ५३ वर्षीय मनबहादुर गुरुङ, पुतलीबजार–१० का ८० वर्षीय पदमबहादुर गुरुङ, हाल भिरकोट–२ दहथुम बस्ने ४३ वर्षीया रस माया गुरुङ र भिरकोट–३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङ रहेका छन्।
घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको र रस माया गुरुङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिप चालक भिरकोट नगरपालिका–२ का ५० वर्षीय खेमप्रसाद गुरुङ प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।