भारी वर्षा र हावाहुरीको पूर्वानुमानपछि सरकारको उच्च सतर्कता, राति राजमार्ग यात्रा नगर्न आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भारी वर्षा र हावाहुरीको पूर्वानुमानपछि सरकारको उच्च सतर्कता, राति राजमार्ग यात्रा नगर्न आग्रह

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८३, बिहीबार

    काठमाडौं, ८ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।

    जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई ध्यानमा राख्दै सरकारले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका कामलाई तीव्र बनाएको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ भने जिल्ला सुरक्षा समितिको बैठकमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ।

    सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई मध्यनजर गर्दै जोखिमयुक्त सडकखण्डमा एक्स्काभेटर, लोडर, डोजरलगायतका भारी उपकरण तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालयलाई २४ सै घण्टा सक्रिय रहन तथा सडकको अवस्था नियमित सार्वजनिक गर्न निर्देशन दिइएको छ।

    सरकारले रातिको समयमा राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ। राजमार्गका सुरक्षा जाँच चौकीबीच समन्वय गरी सडक सुरक्षित रहेको सुनिश्चित भएपछि मात्रै सवारी साधन अघि बढाउने ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको जनाइएको छ।

    त्यस्तै, जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न ७५३ वटै स्थानीय तहलाई पूर्वतयारी गर्न निर्देशन दिइएको छ। विद्यालयको पठनपाठन तथा निर्धारित परीक्षाबारे पनि मौसमको अवस्था हेरी आवश्यक निर्णय लिन सम्बन्धित निकायलाई भनिएको छ।

    हिमाली तथा पहाडी क्षेत्रमा रहेका पदयात्री तथा पर्वतारोहीलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न समन्वय गर्न, अस्पताल तथा स्वास्थ्य संस्थामा जनशक्ति र औषधि तयारी अवस्थामा राख्न तथा अत्यावश्यक खाद्यान्नको मौज्दात कायम गर्न पनि निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।

    आपत्कालीन अवस्थामा हेलो सरकार ११११, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, स्वास्थ्य हेल्पलाइन १११५ लगायतका नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।