


दमौली, ९ असोज । अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवास्थित पृथ्वी राजमार्गमा हिलोसहितको लेदो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको छ।
आज साँझ करिब ६ः२५ बजे माथिबाट आएको लेदोसहितको पहिरोले सडक अवरुद्ध बनाएको हो। पहिरोमा नम्बर नखुलेको एउटा मोटरसाइकलसमेत परेको प्रहरीले जनाएको छ। मानवीय क्षति भने भएको छैन।
सडक खुलाउन जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक अमृत लामिछानेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ। सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।