


तनहुँ, ९ असोज । नेपाली कांग्रेसकी नेतृ एलिजा ढकालले पार्टीको १५औँ महाधिवेशनमा तनहुँ क्षेत्र नं. १ बाट युवा महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेकी छन्।
ढकालले नेपाली कांग्रेसले पछिल्लो समय युवाको परिवर्तनको आकांक्षालाई आत्मसात गर्दै नीति र नेतृत्वमा युवाको सहभागिताका लागि थप अवसर सिर्जना गरेको बताएकी छन्। ३५ वर्षमुनिका युवाका लागि छुट्टै क्लष्टरमार्फत नेतृत्वमा हस्तक्षेप गर्ने अवसर सिर्जना हुनु सकारात्मक भएको उनको भनाइ छ।
विगत डेढ दशकदेखि नेपाली कांग्रेसमा आबद्ध रहेको बताउँदै ढकालले नेविसंघको क्याम्पस कमिटी हुँदै केन्द्र, गण्डकी प्रदेश प्रतिनिधि तथा पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा रहेर काम गरेको उल्लेख गरेकी छन्।
विद्यार्थी तथा सामाजिक आन्दोलनदेखि पार्टीका सांगठनिक गतिविधिमा सक्रिय रहँदै आएको बताउँदै उनले आफ्ना विचार, दृष्टिकोण, लोकतन्त्रप्रतिको निष्ठा र सांगठनिक अनुभवलाई पार्टीको महाधिवेशनसम्म लैजाने उद्देश्यले उम्मेदवारी दिएको बताएकी छन्।
उनले तनहुँ क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधि तथा वडा कमिटी सभापतिहरूसँग आफ्नो उम्मेदवारीलाई अनुमोदन गर्दै अमूल्य मत प्रदान गरिदिन अपिल गरेकी छन्।
“लोकतन्त्रको सुन्दरता सहित बदलाव र रूपान्तरणको बाटोमा अघि बढिरहेको कांग्रेसमा युवाको भूमिका थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको” ढकालको भनाइ छ।