


काठमाडौं, ९ असोज । झारखण्ड गोरखा समाज तथा विभिन्न नेपाली समुदायसँग आबद्ध संस्थाहरूले नेपालका बाढी तथा प्राकृतिक प्रकोपपीडितका लागि रु १६ लाख ८९ हजार २५० आर्थिक सहयोग गरेका छन्।
झारखण्डमा सङ्कलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। आपत्कालीन मानवीय सहायता, बाढीपीडितको उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको हो।
सहयोगमा झारखण्ड गोरखा समाज, प्रथम वाहिनी झारखण्ड सशस्त्र पुलिस, गोरखा सेवा निवृत्त संघ, भजन कीर्तन मण्डली, गोरखा उत्कर्ष युवा संघ राँची झारखण्डलगायत संस्थाको सहभागिता रहेको छ।
राष्ट्रिय वाणिज्य बैंकमार्फत जम्मा गरिएको उक्त रकम नेपालमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा प्रयोग हुने विश्वास गरिएको छ।
सहयोग रकम सङ्कलन तथा समन्वयमा राँचीमा रहेका नेपाली समुदायका प्रतिनिधिहरू रामबहादुर गोदार, राजेन सिंह क्षेत्री, दिवस ओली (अर्जुन), उज्ज्वल थापा र गोविन्द पाण्डेलगायतको सहभागिता रहेको थियो।
कार्यक्रम तथा सहयोग अभियानको समन्वय तनहुँ निवासी समाजसेवी सुजन विष्टले गरेको जनाइएको छ।
भारतको झारखण्डबाट नेपाली बाढीपीडितका लागि गरिएको यस सहयोगले विपद्का समयमा सीमापारि रहेका नेपाली समुदायबीचको मानवीय सहयोग र सामाजिक एकतालाई समेत थप मजबुत बनाएको छ।