


तनहुँ ९ असाेज । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानीस्थित एक ग्यारेजमा फलामको डण्डी प्रहारबाट एक मजदुरको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
मृत्यु हुनेमा भारतको मोतिहारी जिल्ला घर भई सोही ग्यारेजमा काम गर्दै आएका ५० वर्षीय लालवचन शाह रहेका छन्।
प्रहरीका अनुसार भारतको बेतिया जिल्ला घर भई सोही ग्यारेजमा काम गर्ने ३२ वर्षीय जावेद आलमले मादक पदार्थ सेवन गरी शाहको टाउकोमा फलामको डण्डी प्रहार गरेका थिए। गम्भीर घाइते शाहलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले शाहलाई शुक्रबार राति ८ः३५ बजे मृत घोषणा गरेका थिए।
घटनापछि फरार भएका आलमलाई प्रहरीले आँबुखैरेनी गाउँपालिका–३ भित्री बजारबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।