


तनहुँ, १० असोज । नेपाल मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा मध्यमदेखि भारी तथा अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि तनहुँमा सम्भावित मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्थासहित खोज तथा उद्धार, राहत र प्रतिकार्यका लागि आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको हो ।
प्रशासनले स्थानीय तहलाई आफ्नो भौगोलिक क्षेत्रभित्र बाढी तथा मनसुनबाट प्रभावित हुन सक्ने जोखिमयुक्त क्षेत्र पहिचान गरी आवश्यक परे विद्यालय तथा सार्वजनिक भवनमा नागरिकलाई अस्थायी रूपमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए । साथै वडास्तरमै खोज तथा उद्धार एवं राहत सामग्री तयारी अवस्थामा राख्न र पालिका तथा वडास्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई पूर्ण रूपमा सक्रिय बनाउन भनिएको छ ।
जोखिमयुक्त तथा प्रभावित क्षेत्रका नागरिकलाई पूर्वसूचना दिन माइकिङ, एसएमएस, फोनलगायत सञ्चार माध्यमबाट निरन्तर जानकारी प्रवाह गर्न पनि प्रशासनले स्थानीय तहलाई आग्रह गरेको छ ।
त्यस्तै, स्थानीय मौसमको प्रतिकूलतालाई ध्यानमा राखी विद्यालय तथा कलेज सञ्चालन वा स्थगन गर्ने विषयमा शिक्षा समन्वय एकाइ, सुरक्षा निकाय र प्रशासनसँग आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ ।
विपद्का बेला तत्काल प्रयोग गर्न सकिने जेसीबी, एम्बुलेन्सलगायत यन्त्रउपकरणलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्न तथा पालिकामा क्रियाशील गैरसरकारी संस्थासँग समेत समन्वय गर्न प्रशासनले आग्रह गरेको छ । अस्पताल तथा स्वास्थ्य चौकीमा आवश्यक औषधि र प्राथमिक उपचार सामग्री पर्याप्त मौज्दात राख्न तथा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न पनि भनिएको छ ।
प्रशासनले स्थानीय तहलाई खाद्यान्न तथा इन्धनको उचित व्यवस्थापन गर्न र मनसुन अवधिमा आयोजना गरिएका मेला तथा महोत्सव भए स्थगन गर्नसमेत अनुरोध गरेको छ ।
स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति गठन गरी स्थानीय तहमा आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना तथा प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग प्रत्यक्ष सूचना आदानप्रदानको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार तनहुँमा पछिल्लो समय वर्षा भइरहेको र आगामी दिनमा थप वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले बाढी, पहिरो, डुबान तथा अन्य मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राखी पूर्वतयारीलाई प्राथमिकता दिइएको हो ।