


तनहुँ, १५ असोज । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ अन्तर्गत व्यास–१० बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भई महाधिवेशन प्रतिनिधि (खुला) तर्फ उम्मेदवारी दिएका कांग्रेस नेता रामचन्द्र पोखेलले निर्वाचनमा आफ्नो पराजय स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई दिएका छन्।
प्रेस वक्तव्य जारी गर्दै पोखेलले निर्वाचनका क्रममा आफूलाई मतदान गर्ने तथा प्रचारप्रसारमा खटिने पार्टीका नेता–कार्यकर्ता, युवा तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले निर्वाचनका क्रममा देखिएका चिट र प्यानलको अभ्यासप्रति साथीहरूले उठाएको आवाजलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।
पोखेलले नेपाली कांग्रेसको संगठन सुदृढीकरण, युवा नेतृत्वको विकास र पार्टीको उज्ज्वल भविष्यका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, १५औँ महाधिवेशनबाट जिल्लाबाट अघि बढ्न चाहने साथीहरूलाई सक्दो सहयोग गर्ने बताएका छन्।