


तनहुँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा तनहुँबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने आकांक्षीहरू देखिन थालेका छन्। हालसम्म चिनु पोख्रेल, राजेशकुमार श्रेष्ठ, एलिजा ढकाल, सकिना खातुन, रेशम गुरुङ र दीपक भट्टराईले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका राजेशकुमार श्रेष्ठले तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनी नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय कार्यवाहक अध्यक्षसमेत हुन्।
त्यस्तै एलिजा ढकाल कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यसमेत रहिसकेकी छन्।
सकिना खातुनले मुस्लिम महिला क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनी तनहुँ–१ बाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्।
त्यसैगरी चिनु पोख्रेल, रेशम गुरुङ र दीपक भट्टराईले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारीको तयारी अघि बढाएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखिदेखि काठमाडौंमा हुँदैछ।