


पोखरा २३ असाेज । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा विद्यालय बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएपछि पोखरा महानगरपालिकाले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ।पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटनामा परेको थियो।
दुर्घटनाका बेला विद्यार्थी, चालक र सहचालक गरी २२ जना सवार रहेकोमा पाँच जनाको मृत्यु भएको र अन्य घाइते उपचाररत रहेको महानगरले जनाएको छ।दुर्घटनाको कारण पत्ता लगाउने, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन तथा छानबिन गर्ने र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।
महानगरका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन्।
समितिलाई पाँच दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ। समितिले विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन तथा आगामी दिनमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत सुझाव दिनेछ।
पोखरा महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नगरप्रमुख आचार्यले विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन्।