तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँधस्थलमा विपद् नमुना अभ्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँधस्थलमा विपद् नमुना अभ्यास

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०८३, शनिबार

    तनहुँ, २४ असोज । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० जडित मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणस्थलमा आज विपद् नमूना अभ्यास गरिएको छ ।

    निर्माण कार्यका क्रममा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, कामदारको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्ने उद्धेश्यले विपद् नमुना अभ्यास गरिएको हो ।

    आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजना बमोजिम बाँध निर्माणस्थलमा नमुना अभ्यास सञ्चालन गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । अभ्यासमा प्याकेज १ र प्याकेज २ अन्तर्गत कार्यरत जनशक्तिलाई लक्षित गरी विपद्का बेला अपनाउनुपर्ने सुरक्षा सावधानी, उद्धार प्रक्रिया तथा सुरक्षित स्थानमा पुग्ने विधिबारे व्यावहारिक अभ्यास गरिएको थियो ।

    आयोजना प्रमुख भण्डारीले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न तथा आपत्कालीन अवस्थामा तत्काल र प्रभावकारी रूपमा प्रतिकार्य गर्न जनशक्तिलाई पूर्वतयारी अवस्थामा राख्न अभ्यास आयोजना गरिएको बताए ।

    ठूला पूर्वाधार आयोजना निर्माणका क्रममा विभिन्न प्रकारका जोखिम उत्पन्न हुन सक्ने भएकाले त्यस्ता जोखिमको पहिचान, सुरक्षा सावधानीको पालना र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्रक्रियाबारे कामदार तथा सम्बन्धित जनशक्तिलाई जानकारी गराउनु आवश्यक रहेको उनको भनाइ छ । नमुना अभ्यासले विपद्को अवस्थामा कसरी सुरक्षित रहने, प्रभावित व्यक्तिको उद्धार कसरी गर्ने र सुरक्षित स्थानसम्म कसरी पुग्ने भन्ने विषयमा व्यावहारिक ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

    भण्डारीले निर्माणस्थलमा कार्यरत जनशक्तिको सुरक्षा आयोजनाको महत्वपूर्ण पक्ष भएकाले सम्भावित जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिकार्यको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए । यस्ता अभ्यासले विपद्का बेला अपनाउनुपर्ने प्रक्रिया स्पष्ट पार्नुका साथै उद्धारमा संलग्न निकाय र निर्माणमा कार्यरत जनशक्तिबीच समन्वय प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

    नमुना अभ्यासमा तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक, नेपाली सेनाको कालीभञ्जन गणका प्रतिनिधि, आयोजना सुपरीवेक्षण परामर्शदाता, वातावरण तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक र निर्माण व्यवसायीका प्रतिनिधिको सहभागिता थियो ।