‘यो विजय मेरो मात्र होइन, समग्र मध्यपूर्वको साझा विश्वास र गौरव हो’ : पुरुषोत्तम खनाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘यो विजय मेरो मात्र होइन, समग्र मध्यपूर्वको साझा विश्वास र गौरव हो’ : पुरुषोत्तम खनाल

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०८३, मंगलवार

    तनहुँ, २७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मध्यपूर्व क्लस्टरको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित पुरुषोत्तम खनालले आफ्नो विजयलाई समग्र मध्यपूर्वमा रहेका कांग्रेसजनको साझा विश्वास र गौरवको रूपमा व्याख्या गरेका छन्।

    खनालले २ हजार ९४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी विमल सुवेदीले १ हजार ७०८ मत प्राप्त गरेका थिए। खनाल ३८६ मतान्तरले विजयी भएका हुन्।

    निर्वाचित भएपछि आभार व्यक्त गर्दै खनालले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि प्रवासमा रहेर नेपाली कांग्रेसको विचार, सिद्धान्त र लोकतान्त्रिक आदर्शप्रति प्रतिबद्ध हजारौँ साथीहरूको विश्वास, त्याग र समर्पणको सम्मानका रूपमा लिएको बताएका छन्।

    उनले देश तथा विदेशमा रहेका कांग्रेसका अग्रज नेता, नेपाली जनसम्पर्क समितिका नेतृत्व तथा सदस्य, महाधिवेशन प्रतिनिधि, शुभेच्छुक र आफ्नो उम्मेदवारीलाई साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्। विशेषगरी नेपाली जनसम्पर्क समिति साउदी अरबको परिवारप्रति उनले धन्यवाद दिएका छन्।

    प्रवासमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताको योगदानलाई पार्टीको मूल नेतृत्वले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने उनको भनाइ छ। विदेशमा श्रम र संघर्षसँगै पार्टीको विचार तथा लोकतान्त्रिक चेतना जीवन्त राख्ने कांग्रेसजनको योगदानलाई पार्टीको नीति निर्माणमा उचित स्थान दिलाउन आफू प्रतिबद्ध रहेको उनले बताएका छन्।

    मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, श्रम अधिकार, सुरक्षित वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, कानुनी तथा कूटनीतिक कठिनाइ र स्वदेश फर्किएपछिको सम्मानजनक जीवनका सवाललाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने खनालले प्रतिबद्धता जनाएका छन्।

    उनले प्रवासी नेपालीले भोगिरहेका समस्यालाई सहानुभूतिमा मात्र सीमित नराखी समाधानमुखी पहलमा रूपान्तरण गर्नु आफ्नो प्राथमिकता हुने बताएका छन्।

    खनालले निर्वाचनमा प्रतिस्पर्धा गरेका खेमराज बस्नेत (यूएई), विमल सुवेदी (कतार), रितबहादुर कटुवाललगायतका उम्मेदवारप्रति पनि सम्मान व्यक्त गरेका छन्। आफ्नो विजयलाई अन्य साथीहरूको पराजयका रूपमा नलिई प्रवासी नेपालीको हितका लागि साझा उद्देश्यमा सहकार्य गर्नुपर्ने उनको धारणा छ।

    ‘राजनीतिमा पदले परिचय दिन सक्छ, तर व्यक्तिको वास्तविक मूल्य उसको व्यवहार, इमानदारी र जिम्मेवारीप्रतिको निष्ठाले निर्धारण गर्छ,’ खनालले भनेका छन्।

    आफूमाथि गरिएको विश्वासलाई व्यवहार र कामबाट अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले मध्यपूर्वका सम्पूर्ण कांग्रेसजनको एकता, सहकार्य र सुझावलाई आत्मसात् गरेर अघि बढ्ने बताएका छन्।

    ‘विश्वास तपाईंहरूको, जिम्मेवारी मेरो; उद्देश्य हाम्रो साझा’ भन्दै खनालले पार्टी, लोकतन्त्र र प्रवासी नेपालीको हकहितका लागि निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।