पराजित भए पनि मतदाताको विश्वास खेर जान दिने छैन : एलिजा ढकाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पराजित भए पनि मतदाताको विश्वास खेर जान दिने छैन : एलिजा ढकाल

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०८३, शुक्रबार

    तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट ३५ वर्षमुनिको युवा महिला समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी एलिजा ढकालले निर्वाचनमा पराजित भए पनि मतदाताको विश्वास खेर जान नदिने बताएकी छन् ।

    निर्वाचन परिणाम आफ्नो अनुकूल नआएपछि वक्तव्य जारी गर्दै ढकालले आफूलाई विश्वास गरेर मतदान गर्ने २ हजार ९१४ जना मतदाताप्रति आभार व्यक्त गरेकी छन् । उनले आफ्नो पक्षमा मत नआए पनि आफूलाई माया, स्नेह र आशीर्वाद दिने सबैप्रति नतमस्तक रहेको बताएकी छन् ।

    मतगणनाको सुरुवाती रुझानदेखि नै पछाडि रहे पनि आफू दुई रातसम्म नसुती मतगणनामा प्रत्यक्ष सहभागी भएको उल्लेख गर्दै उनले आफ्नो पक्षमा मतदान गर्ने प्रत्येक मतदाताको विश्वासलाई आगामी दिनमा पनि सम्मान गर्ने बताएकी छन् ।

    ‘बहुमतले मलाई योग्य ठानेन । मैले यसलाई अन्यथा ठानेकी छैन । बरु आगामी दिनमा विजयका लागि आवश्यक मत प्राप्त गर्न आफूलाई अझ तयार गर्नुपर्ने रहेछ भन्ने महसुस गरेकी छु,’ ढकालले भनेकी छन् ।

    उनले स्वच्छ प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको अभिन्न अंगका रूपमा स्वीकार गर्दै आफूलाई अझ मेहनत गर्न, धेरै कांग्रेसजनमाझ पुग्न र पार्टी संगठनभित्र थप सक्रिय बन्न मतमार्फत सन्देश दिने बहुमत मतदाताप्रति पनि सम्मान व्यक्त गरेकी छन् ।

    निर्वाचनमा विजयी भएकी डा. कला पन्तलाई बधाई तथा शुभकामना दिँदै ढकालले यसपटकको महाधिवेशनले नेपाली कांग्रेस बदलिएको सन्देश दिएको उल्लेख गरेकी छन् । गुट–उपगुटको अभ्यासलाई निरुत्साहित गर्दै राजनीतिक, व्यावसायिक, प्राज्ञिक तथा प्राविधिक पृष्ठभूमिका योग्य व्यक्तिहरूको पार्टीमा महत्त्वपूर्ण उपस्थिति देखिनु सकारात्मक भएको उनको भनाइ छ ।

    यसले बदलिँदो राजनीतिक परिवेशमा नेपाली जनताको आकांक्षा सम्बोधन गर्दै नेपाली कांग्रेसप्रतिको आकर्षण बढाउने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

    ढकालले महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै आफूलाई चुनावी प्रक्रियामा साथ, सहयोग र हौसला प्रदान गर्ने शुभेच्छुक, साथीभाइ तथा आफन्तजनप्रति आभार व्यक्त गरेकी छन् । साथै उनले विजया दशमी २०८३ को शुभकामनासमेत दिएकी छन् ।