


काठमाडौ, १ कात्तिक । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो जीप सुनकोसी नदीमा खस्दा बेपत्ता भएका तीनजनाको खोजी जारी गरिएको छ । आइतबार बिहान करिब २ः३० बजे जीप सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको थियो ।
सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जीप करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको थियो । जीप खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन् ।चालकको भनाइअनुसार दुर्घटनापछि तीनजना बेपत्ता छन् ।
उनीहरूको खोजी तथा उद्धारका लागि गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ । इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा टोली खटिएका हुन् । संयुक्त टोलीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण तथा मृतक र बेपत्ता व्यक्तिहरूबारे थप विवरण आउन बाँकी छ । घटनास्थलमा उद्धार तथा अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।