आँबुखैरेनीमा पूर्वाधार निर्माणले गति लिँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा पूर्वाधार निर्माणले गति लिँदै

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०८३, सोमबार

    तनहुँ, २ कात्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, नाली, खानेपानी तथा भवन निर्माणका कामलाई तीव्रता दिएको छ । गाउँपालिकाले सडक ढलानदेखि नयाँ खानेपानी पाइपलाइन विस्तारसम्मका विभिन्न पूर्वाधारका काम अघि बढाएको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माले गाउँपालिकाभित्र पछिल्लो अवधिमा चार हजार नौ सय १८ मिटर सडक ढलान गरिएको जानकारी दिए । यस्तै एक हजार दुई सय ६४ मिटर सडक कालोपत्र, आठ सय ८१ मिटर नाली निर्माण र तीन हजार पाँच सय ५४ मिटर नयाँ सडकको ट्रयाक निर्माण गरिएको छ ।

    स्थानीयको आधारभूत आवश्यकतालाई ध्यान दिँदै खानेपानीतर्फ पनि उल्लेख्य काम भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आठ हजार ५ सय मिटर नयाँ खानेपानी पाइपलाइन विस्तार गरेको छ भने चार वटा नयाँ सार्वजनिक धारा निर्माण गरिएको शर्माले बताए ।

    यसैगरी एक हजार छ सय मिटर सडक मर्मत तथा सम्भार गरिएको छ । गाउँपालिकाले सेवा प्रवाहका लागि आवश्यक भौतिक संरचना निर्माणतर्फ पनि काम अघि बढाएको छ । यस अवधिमा दुई वटा नयाँ भवन निर्माण गर्नुका साथै सात वटा भवन मर्मत गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

    पाँच ठूला आयोजना प्राथमिकतामा

    गाउँपालिकाले स्थानीय आवश्यकता र सडक सञ्जाल विस्तारलाई ध्यानमा राख्दै विभिन्न ठूला पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखेको छ । शर्माका अनुसार लाब्दी घुमाउँदै हुँदै बुद्धसिंह राजमार्ग जोड्ने सडक निर्माण आयोजना अन्तर्गत एक हजार आठ सय आठ मिटर सडक निर्माण गरिएको छ । त्यस्तै खानीखोला रिङरोड निर्माण आयोजना अन्तर्गत एक हजार तीन सय ३६ मिटर सडक निर्माण भएको छ ।

    लाब्दी–छिम्केश्वरी सडक स्तरोन्नति आयोजना अन्तर्गत एक सय ५८ मिटर, कुसुमबारी–पौवा खोलागाउँ सडक ढलान आयोजना अन्तर्गत पाँच सय ६० मिटर तथा भुजेलगाउँ पूर्वाधार निर्माण योजना अन्तर्गत चार सय १४ मिटर सडक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

    यी आयोजनाले गाउँपालिकाका ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्न तथा स्थानीयको आवतजावत सहज बनाउन महत्वपूर्ण योगदान पु¥याउने गाउँपालिकाको अपेक्षा छ ।

    गाउँपालिकाले पूर्वाधारका योजनालाई आवश्यकता र प्रकृतिअनुसार विभिन्न माध्यमबाट कार्यान्वयन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार उपभोक्ता समितिमार्फत १९ वटा योजना कार्यान्वयन गरिएको छ भने बोलपत्रमार्फत १२ वटा योजना अघि बढाइएको छ ।

    त्यस्तै आय ठेक्कामार्फत छ वटा योजना सञ्चालन गरिएको छ भने रु दश लाखभन्दा कम लागतका आठ वटा योजना सोझै खरिदबाट कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले योजना छनोट तथा कार्यान्वयन गर्दा स्थानीय आवश्यकता, जनताको माग र बस्तीको प्राथमिकतालाई आधार बनाएको जनाएको छ । सडक, खानेपानी र भवनजस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राख्दा नागरिकको दैनिक जीवन सहज हुनुका साथै स्थानीय उत्पादन तथा आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पूर्वाधार निर्माणलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै नागरिकको आवश्यकता र चाहनाअनुसार विकासका योजनालाई प्राथमिकता दिएर काम अघि बढाइएको उल्लेख गरे ।

    उनले गाउँपालिकाको समग्र विकासका लागि सडक, खानेपानी, भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई आधारभूत आवश्यकता मानेर योजना बनाइएको बताए । ग्रामीण क्षेत्रका बस्तीलाई सडक सञ्जालसँग जोड्ने, सडकको स्तरोन्नति गर्ने तथा नागरिकलाई सहज रूपमा आधारभूत सेवा उपलब्ध गराउनेतर्फ गाउँपालिकाको ध्यान केन्द्रित रहेको उनकाे भनाइ छ ।