


तनहुँ, ३ कात्ति । तनहुँको शुक्लागण्डकी नगरपालिका–२, कोत्रेमा भारतीय नम्बर प्लेटको स्कारपियोले ट्याक्सी र स्कुटरलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन्।
मंगलबार दिउँसो दमौलीबाट पोखरातर्फ जाँदै गरेको बीआर ११ बीडब्लु ६०६७ नम्बरको भारतीय स्कारपियोले लेन क्रस गरी सुरुमा ग १ ज २०६६ नम्बरको ट्याक्सी र त्यसपछि ग ०१००२ प १४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा ट्याक्सी चालकसहित ५ जना र स्कुटर चालक पोखरा–८ की ३० वर्षीया रुपा गुरुङ घाइते भएकी छन्। ट्याक्सीमा सवार चार जना पोखरा–१० का एउटै परिवारका सदस्य रहेको जनाइएको छ।
घाइते सबैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न स्कारपियो, ट्याक्सी र स्कुटरलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ।