


तनहुँ, ८ कात्तित । प्रदेश अस्पताल दमौलीमा उपचारका लागि आएका बिरामीलाई थप उपचारका लागि पोखरा लैजानुपर्दा एम्बुलेन्सको खर्च जुटाउनसमेत कठिन हुने अवस्था रहेको भन्दै २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन माग गरिएको छ ।
सामाजिक अभियन्ता सुदीप गफ्फारले रातको समयमा सानो बच्चा लिएर अस्पताल आएकी एक आमाले थप उपचारका लागि पोखरा लैजानुपर्दा एम्बुलेन्स खर्चका कारण समस्या भोग्नुपरेको प्रसङ्ग उठाउँदै यस्तो माग गरेका हुन् ।
उक्त आमा बच्चा लिएर पोखरा गइसके पनि यो समस्या एउटा परिवारको मात्र नभई आर्थिक रूपमा कमजोर सबै नेपालीको साझा समस्या भएको उनको भनाइ छ । उनले अस्पतालमा २४ घण्टा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन् ।