


तनहुँ, १० कात्तिक । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले लोकतन्त्र सङ्कटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पार्टीको सङ्गठन सुदृढीकरण र रूपान्तरणमा पनि युवाहरूले सिर्जनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।
नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल तनहुँले आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले तरुण दललाई नेपाली काङ्ग्रेसको मेरुदण्डको सङ्ज्ञा दिए । उनले लोकतान्त्रिक आन्दोलन तथा लोकतन्त्रको रक्षाका लागि तरुणहरूले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षणमा युवाहरू सक्रिय हुनुपर्ने धारणा राखे ।
नेपाली काङ्ग्रेसले तरुण तथा युवालाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व बढ्दै गएको बताए । उनले काङ्ग्रेसको रूपान्तरणका लागि तरुणहरूले केवल सङ्गठन विस्तारमा मात्र सीमित नभई नयाँ सोच, विचार र सिर्जनात्मक कार्यक्रममार्फत पार्टीलाई जनतासँग जोड्नुपर्ने बताए ।
महामन्त्री पौडेलले नेपाली काङ्ग्रेसमा भएका सुधारका प्रयास र परिवर्तनलाई जनतासमक्ष पु¥याउनुपर्नेमा पनि जोड दिए । पार्टीभित्र भएका सकारात्मक परिवर्तनबारे जनतालाई बुझाउन सके कांग्रेसप्रतिको विश्वास थप बलियो बनाउन सहयोग पुग्ने उनकाे भनाइ थियो ।
“देश सच्चिन पहिला काङ्ग्रेस सच्चिनुपर्छ । काङ्ग्रेस आफैँ जिम्मेवार, व्यवस्थित र जनअपेक्षाअनुसार अघि बढ्न सके मात्रै देशलाई सही दिशामा अघि बढाउन योगदान गर्न सकिन्छ,“ उनले भने ।
कार्यक्रममा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य चिनु पोख्रेलले पार्टीभित्र एकता आवश्यक रहेको बताउनुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जगदीशचन्द्र पोख्रेल, दीपक भट्टराईलगायतले तरुण दलको भूमिका, पार्टी सङ्गठनको सुदृढीकरणका विषयमा धारणा राखे ।