


तनहुँ, २० कात्तिक । चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न पृथ्वीराजमार्गमा तालिमप्राप्त कुकुरसहित प्रहरीले विशेष आकस्मिक चेकिङ सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रबारदेखि तालिमप्राप्त दुईवटा कुकुर परिचालन गरी राजमार्गमा विशेष चेकिङ अभियान सञ्चालन गरेको हो ।
चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै लागुऔषधजन्य पदार्थको अवैध ओसारपसार तथा कारोबार रोकथाम गर्ने उद्देश्यले चेकिङ सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी विस्फोटक पदार्थको अवैध ओसारपसार तथा प्रयोग नियन्त्रणलाई समेत अभियानले प्राथमिकतामा राखेको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार राजमार्गमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तालिमप्राप्त कुकुरसहित विशेष आकस्मिक जाँच सञ्चालन गरिएको हो ।
चाडपर्वलाई सुरक्षित, मर्यादित र अपराधमुक्त बनाउन प्रहरीले राजमार्गमा निगरानी तथा चेकिङलाई थप प्रभावकारी बनाएको छ ।