सर्वसत्तावादविरुद्ध लड्न तनहुँ कांग्रेस तयार रहेको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सर्वसत्तावादविरुद्ध लड्न तनहुँ कांग्रेस तयार रहेको घोषणा

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०८३, शुक्रबार

    तनहुँ, २० कात्तिक । नेपाली कांग्रेस तनहुँले मुलुकमा उत्पन्न हुन सक्ने जुनसुकै राजनीतिक परिस्थितिको सामना गर्दै सर्वसत्तावादविरुद्ध दृढतापूर्वक उभिने प्रतिबद्धता घोषणा गरेको छ।

    नेपाली कांग्रेस तनहुँको आयोजनामा शुक्रबार बिहान सम्पन्न जरुरी छलफलमा सहभागी नेताहरूले सर्वसत्तावादका विरुद्ध सशक्त रूपमा आवाज उठाउन र आवश्यक परे आन्दोलनमा उत्रिन तयार रहेको निष्कर्ष निकालेका हुन्।

    छलफलमा जिल्लाका नेता, विभिन्न तहका पार्टी सभापति, भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका अध्यक्ष, महिला, तरुण, विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    बैठकले मुलुकमा उत्पन्न हुने राजनीतिक तथा अन्य परिस्थितिको सामना गर्न पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ। लोकतान्त्रिक मूल्य, मान्यता र नागरिक अधिकारको रक्षाका लागि कांग्रेस दृढतापूर्वक उभिनुपर्ने सहभागीहरूको धारणा थियो।

    विगतमा पनि सर्वसत्तावादविरुद्ध तनहुँ कांग्रेसले उठाएको आन्दोलनले राष्ट्रिय राजनीतिलाई निर्णायक निष्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको इतिहास स्मरण गर्दै आगामी दिनमा पनि लोकतन्त्रको रक्षाका लागि अग्रपंक्तिमा रहेर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।