


तनहुँ, २० कात्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी जवान विशाल रोका २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँले संगठनात्मक नीति निर्देशनअनुसार प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको मूल्याङ्कन गर्दै रोकालाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो।
प्रहरी जवान रोकाले जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी कार्यालयहरूको अपराधसम्बन्धी अभिलेख एकमुष्ट रूपमा दुरुस्त राख्ने, अभिलेखको विश्लेषण गरी शाखा प्रमुखमार्फत कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पेस गर्ने तथा तालुक कार्यालयमा पठाउनुपर्ने दैनिक, साप्ताहिक, पाक्षिक र मासिक प्रतिवेदनहरू त्रुटिरहित ढङ्गले समयमै पठाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए।
त्यसैगरी कार्यालयमा प्राप्त साइबरसम्बन्धी उजुरी तथा अनलाइन ठगीका उजुरीहरूको अनुसन्धानमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आफूलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्व इमानदार, बफादार र कर्तव्यनिष्ठ भई कुशलतापूर्वक सम्पादन गरेको भन्दै उनको कार्यसम्पादनको उच्च मूल्याङ्कन गरी उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले उनलाई उत्कृष्ट प्रहरी घोषित गरेका हुन्।