


तनहुँ, २० कात्तिक । नेपाली कांग्रेस भानु नगरसमितिको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चिनु पोख्रेल प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।
कार्यक्रममा निवर्तमान नगर सभापति रामकुमार श्रेष्ठले नवनिर्वाचित नगर सभापति राजन श्रेष्ठलाई पद हस्तान्तरण गरे ।
प्रमुख अतिथि केन्द्रीय सदस्य चिनु पोख्रेलले पार्टीलाई थप सशक्त, एकताबद्ध र जनताप्रति उत्तरदायी बनाउन नेता तथा कार्यकर्ता गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्नुपर्ने बताइन् । उनले कांग्रेसको लोकतान्त्रिक मूल्य, मान्यता र विचारलाई जनतामाझ पुर्याउँदै जनताका समस्या र सवालमा पार्टीले सशक्त आवाज उठाउनुपर्ने धारणा व्यक्त गरिन् ।
पार्टी संगठनलाई बलियो बनाउन आपसी एकता, सहकार्य र सक्रियता आवश्यक रहेको उल्लेख गर्दै उनले जनताको पक्षमा निरन्तर खबरदारी गर्ने अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
नवनिर्वाचित नगर सभापति राजन श्रेष्ठले पदभार ग्रहण गर्दै भानुमा नेपाली कांग्रेसको संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, पार्टीका विभिन्न तहका पदाधिकारी, जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र कार्यकर्ताहरूको सहभागिता रहेको थियो।