सयपत्री फूलखेतीबाट उत्साहित विष्णुमाया, पहिलो वर्षमै बजारको राम्रो माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सयपत्री फूलखेतीबाट उत्साहित विष्णुमाया, पहिलो वर्षमै बजारको राम्रो माग

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०८३, शनिबार

    तनहुँ, २१ कात्तिक । व्यास नगरपालिका–५ सङ्गमटोलकी विष्णुमाया श्रेष्ठले यस वर्ष पहिलोपटक व्यावसायिक रूपमा सयपत्री फूलखेती सुरु गरेकी छन् । विगत एक दशकदेखि तरकारीखेती गर्दै आएकी उनले नगरपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएर प्रोत्साहन गरेपछि नयाँ व्यवसायका रूपमा सयपत्री खेती रोजेकी हुन् । पहिलो वर्षमै फूलको माग आउन थालेपछि उनी उत्साहित बनेका छिन् ।

    श्रेष्ठले आफ्नो साढे दुई रोपनी क्षेत्रफलमा दुई हजार पाँच सय सयपत्रीका बेर्ना रोपेकी थिइन् । फूल फुल्न थालेपछि उनले टिपेर बिक्रीसमेत सुरु गरेकी छन् । उत्पादित फूल प्रतिकिलो रु तीन सयका दरले बिक्री भइरहेको छ । त्यस्तै, फूलबाट माला बनाएर बिक्री गर्दा एउटा मालाको मूल्य रु एक सय ५० निर्धारण गरेको उनले बताइन् ।

    पहिलोपटक फूलखेतीमा हात हालेकी श्रेष्ठलाई सुरुमा उत्पादन र बजार व्यवस्थापन कस्तो होला भन्ने चासो थियो । तर, फूल फुल्न थालेसँगै ग्राहकबाट माग आउन थालेपछि उनको उत्साह बढेको छ । उत्पादन भएको फूल बिक्री गर्न बजार खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

    “पहिलोपटक सयपत्री फूलखेती गरेकी हुँ । नगरपालिकाले ५० प्रतिशत अनुदान दिएर प्रोत्साहन गरेपछि फूलखेती गर्ने सोच बन्यो,” श्रेष्ठले भनिन्, “अहिले फूलको माग आउन थालेको छ । बजारको समस्या छैन । फूल टिपेर बिक्री गर्न पनि सुरु गरिसकेकी छु ।”

    उनका अनुसार फूलखेती सुरु गरेपछि स्थानीयस्तरमै उत्पादित फूलप्रति उपभोक्ताको चासो देखिएको छ । फूलको माग आउन थालेपछि उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुने अपेक्षा गरिएको उनले बताइन् ।

    दश वर्षदेखि तरकारीखेती, अब फूलखेती पनि

    श्रेष्ठ कृषि क्षेत्रमा नयाँ भने होइनन् । उनी विगत १० वर्षदेखि तरकारीखेतीमा आबद्ध छिन् । आठ रोपनी क्षेत्रफलमा तरकारीखेती गर्दै आएकी उनले आफ्नै नर्सरीसमेत सञ्चालन गरेकी छन् । उनको नर्सरीबाट बेमौसमी तरकारीका बेर्ना उपलब्ध हुँदै आएका छन् ।

    लामो समयदेखि तरकारीखेतीमा अनुभव बटुलेकी उनले यस वर्ष कृषि व्यवसायलाई विविधीकरण गर्दै फूलखेती पनि थपेको बताइन् । तरकारीखेतीसँगै फूलखेती गर्दा एउटै कृषि पेसाबाट विभिन्न स्रोतमा आम्दानी लिन सकिने उनको अपेक्षा छ ।

    “तरकारीखेती गर्दै आएको १० वर्ष भयो । आठ रोपनीमा तरकारी लगाएकी छु । नर्सरीबाट बेमौसमी तरकारीका बेर्ना पनि बिक्री गर्दै आएकी छु,” उनले भनिन्, “यस वर्ष नगरपालिकाको अनुदान पाएपछि साढे दुई रोपनीमा सयपत्री लगाएँ । पहिलो वर्षमै माग आउन थालेपछि खुसी लागेको छ ।”

    स्थानीय फूललाई प्राथमिकता दिनुपर्ने माग

    श्रेष्ठले स्थानीय किसानले उत्पादन गरेका फूललाई बजारमा प्राथमिकता दिनुपर्ने बताइन् । विशेषगरी तिहारजस्ता चाडपर्वमा फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनको उपयोग बढाउनुपर्ने उनको सुझाव छ ।

    नेपालमा फूलको माग बढ्ने समयमा भारतबाट ठूलो परिमाणमा फूल आयात हुने गरेको उल्लेख गर्दै उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताइन् । “भारतबाट आउने फूललाई पूर्ण रूपमा निषेध गरेर स्थानीयस्तरमा उत्पादित फूल बिक्रीलाई प्राथमिकता दिनुपर्छ,” उनले भनिन्, “यहाँका किसानले मेहनत गरेर फूल उत्पादन गरेका छन् । उनीहरूले उत्पादन गरेको फूल बिक्री हुने वातावरण बनाउनुपर्छ ।”