तनहुँमा २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती सम्पन्न

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०८३, शनिबार

    तनहुँ, २१ कात्तिक । ‘प्रकृति अनुकूल आहार, औषध र विहार: रोगमुक्त समाजको आधार’ भन्ने मूल नाराका साथ २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँमा विशेष कार्यक्रमका साथ भव्यतापूर्वक सम्पन्न भएको छ।

    आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक तथा स्वास्थ्य र आरोग्यका देवताका रूपमा पूजित भगवान् धन्वन्तरिको विशेष पूजाअर्चना गरी उक्त दिवस मनाइएको हो।

    कार्यक्रमको अवसरमा चिकित्सालय परिसरमा स्थापित भगवान् धन्वन्तरिको मूर्तिमा विधिपूर्वक पूजा-अर्चना गरिएको थियो। विभिन्न रङ्गीबिरङ्गी फूलमालाले सजाइएको मूर्तिमा दीप प्रज्वलनसहित गरिएको विशेष पूजाले चिकित्सालय परिसरलाई भक्तिमय एवं आध्यात्मिक वातावरणमा परिणत गरेको थियो।

    प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका कार्यालय प्रमुख डा. बुद्धिप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रसाद वितरणसमेत गरिएको थियो। कार्यक्रममा चिकित्सालयका पूर्व कार्यालय प्रमुखहरूको विशेष उपस्थिति रहेको थियो भने चिकित्सालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    यस वर्षको राष्ट्रिय आरोग्य दिवसको नाराले मानव स्वास्थ्य संरक्षणका लागि प्रकृतिअनुकूल खानपान, औषधिको विवेकपूर्ण प्रयोग तथा स्वस्थ जीवनशैलीको महत्वलाई विशेष रूपमा उजागर गरेको छ। आयुर्वेदले स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोग प्रशमनलाई आफ्नो प्रमुख उद्देश्य मानेकाले आहार, औषध र विहारलाई सन्तुलित बनाउनु आरोग्य जीवनको महत्वपूर्ण आधार हो।

    राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीले आयुर्वेदको मौलिक ज्ञान, परम्परागत चिकित्सा पद्धति, योग, प्राकृतिक उपचार र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्दै जनस्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    दिवसले आयुर्वेदको संरक्षण, संवर्द्धन र वैज्ञानिक विकाससँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा थप प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासहित कार्यक्रम सम्पन्न भएको छ।