तनहुँमा देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०८३, शनिबार

    तनहुँ, २१ कात्तिक । जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारलाई सभ्य, मर्यादित र व्यवस्थित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ। कार्यालयले बिहीबार तिहार विशेष सूचना जारी गर्दै देउसी–भैलो कार्यक्रम राति १० बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको हो।

    प्रशासनले नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुने गरी देउसी–भैलो खेल्न आग्रह गर्दै जबरजस्ती रकम माग्ने, दबाब दिने वा धम्क्याउने कार्य नगर्न सचेत गराएको छ।

    त्यस्तै, भुईँचम्पा, पटाका तथा आतिशबाजी जस्ता विस्फोटक पदार्थको अवैध ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला तथा झैझगडा नगर्न र आगलागीबाट बच्न दियो, मैनबत्ती तथा विद्युतीय सामग्री सावधानीपूर्वक प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

    सार्वजनिक सवारीमा बढी भाडा नलिन, क्षमताभन्दा बढी यात्रु नराख्न, ट्राफिक नियम पालना गर्न तथा सडक र सार्वजनिक स्थानमा आवागमनमा अवरोध पुग्ने गरी कार्यक्रम सञ्चालन नगर्न पनि आग्रह गरिएको छ।

    यसैगरी, कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिने, म्याद गुज्रिएका सामान बिक्री गर्ने, चर्को आवाजमा ध्वनि उपकरण बजाउने तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्य नगर्न सूचनामा उल्लेख छ। देउसी–भैलोमा सहभागी बालबालिकालाई अभिभावकको निगरानीमा राख्नसमेत प्रशासनले आग्रह गरेको छ।

    जारी सूचनाको अवज्ञा गरी गैरकानुनी गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।