


तनहुँ, २७ कात्तिक । तिहारको समयमा शान्ति सुरक्षा कायम गर्ने तथा ध्वनि प्रदूषण र जुवातास नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी टोलीले विभिन्न सामग्री नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले मोडिफाइ गरी अत्यधिक ध्वनि प्रदूषण गराउने पाँचवटा बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको छ। ती मोटरसाइकल आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
त्यसैगरी, प्रहरीले लङ्गुरबुर्जा खेलमा प्रयोग हुने सानो तथा ठूलो गरी २३८ वटा गोटी, खेलमा प्रयोग हुने ३३ वटा त्रिपाल तथा चार्ट, ३८ वटा बाल्टिन, तीनवटा पासा गोटी र तीनवटा तिनगोटी डायससमेत नियन्त्रणमा लिएको छ।
तिहारका बेला हुन सक्ने जुवातास तथा विकृति नियन्त्रण र नागरिकलाई सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण सिर्जना गर्ने उद्देश्यले प्रहरीले निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गरेको जनाएको छ।