


काठमाडौ, ३० कात्तिक । चीन भ्रमणमा रहेका तनहुँ–२ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले नेपालले चीनबाट उत्पादनमुखी अर्थतन्त्र निर्माणको पाठ सिक्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसदको टोलीसहित चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दु पुगेका न्यौपानेले नेपाल र चीनको ऐतिहासिक आर्थिक अवस्थाको तुलना गर्दै आर्थिक विकासको आधार उत्पादन, औद्योगिकीकरण, प्रविधि र ऊर्जाको उचित उपयोग भएको बताएका हुन्।
उनले सन् १८२० मा चीनको प्रतिव्यक्ति जीडीपी नेपालको भन्दा करिब १.४ गुणा मात्रै बढी रहेकोमा सन् २०२५ सम्म आइपुग्दा करिब नौ गुणा पुगेको उल्लेख गरेका छन्।
नेपालसँग पर्याप्त जलस्रोत, खनिज, कृषि, वन र जनशक्ति भए पनि तिनलाई उद्योग, उत्पादन, रोजगारी र निर्यातसँग जोड्न नसक्दा आर्थिक विकासमा पछि परेको उनको विश्लेषण छ।
न्यौपानेले बिजुली निर्यातमा मात्र सीमित नभई ऊर्जा उत्पादन र आन्तरिक खपतलाई औद्योगिकीकरणसँग जोडेर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
‘नेपाल विकासको एकमात्र सूत्र ऊर्जाको सन्तुलित उत्पादन र खपत हो,’ उनले प्रश्न गरेका छन्, ‘यो कुरा कहिले र कसले बुझ्ने?’