


दमौली, २२ साउन । तनहुँमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालक पृष्ठपोषण तथा सर्वेक्षण कार्यक्रम सम्पन्न गरिएको छ। एलायन्स क्लब अफ तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चालकहरूको अनुभव, सडकका जोखिमयुक्त स्थान, गति सीमा, दुर्घटनाका प्रमुख कारण तथा दुर्घटना न्यूनीकरणका सम्भावित उपायहरू सम्बन्धी जानकारी संकलन गरिएको थियो।

कार्यक्रमका समन्वयकर्ता तथा एलायन्स क्लब अफ तनहुँका अजित पन्थले सुरक्षित सडक, जिम्मेवार चालक र दुर्घटनारहित यात्राका लागि सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए। उनले कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव र तथ्याङ्कलाई आगामी दिनमा सडक सुरक्षा सम्बन्धी नीति निर्माण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा उपयोग गरिने विश्वास व्यक्त गरे ।

“सुरक्षित चालक, सुरक्षित यात्रा, सुरक्षित जीवन” भन्ने मूल सन्देशका साथ सम्पन्न कार्यक्रमले सडक सुरक्षा प्रवर्द्धन, दुर्घटना न्यूनीकरण तथा चालकहरूमा जिम्मेवारीबोध अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकले जनाएको छ।