ग्यास संकट समाधानमा प्रशासनको अग्रसरता, एक परिवारलाई एक सिलिन्डर वितरणको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ग्यास संकट समाधानमा प्रशासनको अग्रसरता, एक परिवारलाई एक सिलिन्डर वितरणको निर्णय

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८३, शुक्रबार

    दमौली, २२ साउन । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास वितरणलाई व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा आज बसेको बैठकले ग्यासको आपूर्ति श्रृङ्खला नबिग्रने गरी वितरण व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

    बैठकले उद्योगबाट प्राप्त ग्यासको परिमाण, खुद्रा तथा थोक विक्रेतालाई वितरण गरिएको परिमाण र प्रत्येक विक्रेताका ग्राहक सङ्ख्या खुलाएर जिल्ला प्रशासन कार्यालयमा विवरण बुझाउने निर्णय गरेको छ । साथै, खुद्रा तथा थोक विक्रेताले बजारको वास्तविक आवश्यकता पहिचान गरी थप कति ग्यास आवश्यक पर्ने हो, त्यसको विवरण उद्योग र प्रशासनलाई जानकारी गराउने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।

    ग्यासको कृत्रिम अभाव हुन नदिन रातिको समयमा ग्यास बिक्री वितरण पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ । त्यस्तै, खुद्रा विक्रेताले ग्यास बिक्री गर्दा खरिदकर्ताको नाम, फोन नम्बर लगायतका विवरण रजिस्टरमा अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।

    बैठकले सकेसम्म एक परिवारलाई एकवटा सिलिण्डर मात्रै उपलब्ध गराउने व्यवस्था मिलाउने तथा कुनै व्यक्तिले दोब्बर वा सोभन्दा बढी परिमाणमा ग्यास मागे तत्काल जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ ।

    त्यसैगरी, ग्यास लुकाइछिपाइ राख्ने, वास्तविक ग्राहकबाहेक अन्यत्र बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने व्यक्ति वा व्यवसायीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

    प्रशासनले बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सबै डिलर, थोक तथा खुद्रा विक्रेतालाई निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

    बैठकमा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, ग्यास विक्रेता व्यवसायीको सहभागिता रहेको थियो ।