


दमौली, २३ साउन । आँबुखैरेनी सांस्कृतिक संरक्षण मञ्चको आयोजनामा आगामी भदौ १९ गते शनिबार आँबुखैरेनीमा हुने श्रीकृष्ण जन्माष्टमी जात्रा–२०८३ को तयारीका विषयमा शनिबार छलफल गरिएको छ।
मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा जात्रालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तथा स्थानीय मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने विषयमा छलफल भएको जनाइएको छ।
“हाम्रो रीति, हाम्रो थिति—जोगाई राखौँ हाम्रो संस्कृति” भन्ने मूल भावनासहित आयोजना हुने जात्रामा स्थानीय कला, संस्कृति तथा परम्पराको प्रवर्द्धनमा जोड दिइने आयोजकले जनाएको छ।
यहाँका सम्पूर्ण जनजाति, खस–आर्य, दलित लगायत विभिन्न जातजाति तथा समुदायहरूको सहभागितामा आ–आफ्ना मौलिक झाँकी, कला, संस्कृति तथा परम्पराहरू प्रस्तुत गर्दै यो जात्रा भव्य र सभ्य रूपमा सम्पन्न हुँदै आएको छ।
कार्यक्रममा स्थानीय कलाकारसँगै राष्ट्रिय कलाकारहरूको समेत सहभागिता रहने गरेको छ। विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्दै आइरहेका छौँ।
यस वर्ष पनि राष्ट्रिय ख्यातिप्राप्त कलाकार बद्री पंगेनी लगायतका कलाकारहरूको विशेष प्रस्तुतिसहित आँबुखैरेनी पर्व श्रीकृष्ण जन्माष्टमी जात्रा–२०८३ भव्य रूपमा आयोजना हुँदैछ।