


दमाैली ३ भदाै । तनहुँ क्षेत्र नं. २ का सांसद श्रीराम न्यौपानेले संसद् केवल हाजिरी जनाउने तथा सरकारको विरोध वा समर्थन गर्ने थलो नभएको बताएका छन् । उनले संसद्लाई देशको नीति निर्माण र कानुन निर्माणमार्फत मुलुकको भविष्य तय गर्ने महत्वपूर्ण थलोका रूपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले संसद्को भूमिकालाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने बताए। उनले संसद्मा हुने छलफल र बहसलाई जनताका समस्या तथा मुलुकको दीर्घकालीन आवश्यकतासँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे ।
उनले सरकारले चालु वर्षलाई कानुन निर्माणको वर्ष घोषणा गरेर काम अघि बढाएकामा सरकारप्रति धन्यवादसमेत व्यक्त गरे । लामो समयदेखि आवश्यक रहेका कानुन निर्माण तथा संशोधनलाई प्राथमिकताका साथ अघि बढाउन सके संसद्को प्रभावकारिता बढ्ने उनकाे भनाइ थियाे । न्यौपानेले संसद्लाई प्रभावकारी बनाउन नेपालले विश्वका विभिन्न मुलुकमा अपनाइएका असल संसदीय अभ्यासबाट सिक्नुपर्ने बताए ।