


तनहुँ, ११ भदौ । रसुवा भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका तनहुँका जिल्लावासीको खोजी तथा अवस्थाबारे बुझ्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
परिवार तथा आफन्तबाट प्राप्त जानकारीअनुसार व्यवसाय तथा रोजगारीका सिलसिलामा रसुवा पुगेका ७ जना तनहुँबासी हालसम्म सम्पर्कमा नआएको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।
सम्पर्कविहीन हुनेमा भानु नगरपालिका–१ का सञ्जीव गुरुङ रहेका छन् । उनी तीन जनासहित व्यवसायको सिलसिलामा टिमुरेतर्फ गएको बुझिएको छ । उनीसँगै रहेका अन्य दुई जना सिन्धुपाल्चोक जिल्लाका रहेको प्रारम्भिक जानकारी प्राप्त भएको तिवारीले बताए ।
त्यस्तै आँबुखैरेनी गाउँपालिका–३ का प्रेम सेढाई भन्सार कर्मचारी रहेको बताइएको छ । उनी पनि सम्पर्कविहीन छ ।
रसुवा हाइड्रोपावरमा काम गर्ने ऋषिङ गाउँपालिका–७ का धनबहादुर आले सम्पर्कविहिन छन् ।
यसैगरी गोसाइकुण्ड तीर्थयात्रामा गएका भिमाद नगरपालिका–६ का नारायण मरासिनी, बालकृष्ण पोखरेल, सन्देश पोखरेल र गणेश उप्रेतीको समेत खोजी तथा अवस्थाबारे बुझ्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
तिवारीले रसुवा, नुवाकोट, धादिङलगायत बाढी तथा पहिरो प्रभावित क्षेत्र र आसपासमा पुगेका तनहुँ जिल्लाबासीमध्ये हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नरहेका व्यक्तिबारे तत्काल जानकारी गराउन आग्रह गरेका छन् ।
उनले सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारमा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा सञ्चारमाध्यममार्फत तत्काल खबर गर्न अनुरोध गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी तिवारीले विपद्को यस कठिन अवस्थामा सबैले आ–आफ्नो भूमिका र जिम्मेवारीअनुसार खोजी, उद्धार तथा राहत कार्यमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।