


दमौली, ११ भदौ । रसुवाको भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्धेश्यले तनहुँको म्याग्दे गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको आज बसेको बैठकले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो । गाउँपालिकाले विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकाले गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
यस्तै गाउँपालिका कार्यालयमा कार्यरत सम्पूर्ण पदाधिकारी तथा कर्मचारीबाट आ–आफ्नो पाँच दिनको तलब बराबरको रकमसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको उनले बताए ।
गाउँपालिकाले विपद्को यस दुःखद् घडीमा गाउँपालिकाभित्रका सम्पूर्ण नागरिकलाई पनि आफ्नो सामथ्र्यअनुसार बाढीपहिरो पीडितको राहतका लागि सहयोग गर्न अपिल गरेको छ ।