बाढीपहिरो प्रभावितलाई सहयोग गर्न रास्वपा तनहुँको आह्वान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीपहिरो प्रभावितलाई सहयोग गर्न रास्वपा तनहुँको आह्वान

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८३, बिहीबार

    तनहुँ ११ भदाै। रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले दुःख व्यक्त गरेको छ। विपद्को समयमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत संकलन नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न रास्वपा तनहुँले आग्रह गरेको छ।

    रास्वपा तनहुँका सभापति विश्वनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा सरकारले उद्धार तथा राहतका लागि ‘एकद्वार नीति’ अपनाएको र आफुखुसी राहत संकलन गर्न रोक लगाएको सन्दर्भमा पार्टीका सदस्य, शुभेच्छुक तथा सम्पूर्ण तनहुँवासीलाई सोहीअनुसार सहयोग गर्न अनुरोध गरिएको छ।विज्ञप्तिमा विपद्को अवस्थामा उद्धार तथा राहत कार्यमा सरकारलाई सहयोग गर्नु सबैको पहिलो कर्तव्य भएको उल्लेख गर्दै राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई सरकारको उद्धार र राहत अभियानमा साथ, सहयोग र ऐक्यबद्धता जनाउन अपिल गरिएको छ।

    यसैगरी, तनहुँका विभिन्न स्थानबाट बाढीग्रस्त क्षेत्रमा यात्रामा रहेका र हाल सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा उद्धार कार्यमा स्थानीय प्रशासनसँग समन्वय गर्न र खोजी कार्यमा सहयोग गर्नसमेत रास्वपाले आग्रह गरेको छ।तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रास्वपा तनहुँले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, आफन्त तथा घरवास गुमाएका परिवारजनप्रति हार्दिक समवेदना र सहानुभूति व्यक्त गरेको छ।