बाढीबाट जोगिएका तनहुँ अदालतका श्रेस्तेदार आचार्यको अनुभव : ‘राज्य संयन्त्रबीच सूचना प्रवाह कमजोर देखियो’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीबाट जोगिएका तनहुँ अदालतका श्रेस्तेदार आचार्यको अनुभव : ‘राज्य संयन्त्रबीच सूचना प्रवाह कमजोर देखियो’

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८३, बिहीबार

    तनहुँ, ११ भदौ । तनहुँ अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यले रसुवा–त्रिशूली क्षेत्रमा आएको महाप्रलयकारी बाढीबाट आफूहरू संयोगवश जोगिएको अनुभव सार्वजनिक गरेका छन् ।

    आचार्यका अनुसार जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा स्नान गर्ने योजनासहित उनीहरु चार दाजुभाइ, भानिजभाइसमेत १० जना बिहान करिब ५ बजे पोखराबाट हिँडेका थिए । बिहान करिब ८ बजे गल्छीबाट उत्तरतर्फ लाग्दा त्रिशूलीमा आएको बाढीले उत्तरतर्फका नदी तटीय क्षेत्रमा गम्भीर असर पारिसकेको जानकारी उनीहरुले ढिलो गरी पाएका थिए।

    उनले बाढीको जोखिमबारे समयमै सूचना प्रवाह गरी गल्छीमै तीर्थयात्रीलाई रोक्न सकेको भए जनधनको क्षति कम गर्न सकिने धारणा व्यक्त गरे । बाढी भूकम्प वा आगलागीजस्तो तत्कालै हुने विपद् नभई माथिल्लो क्षेत्रमा आएको प्रभाव क्रमशः तलतर्फ आउने भएकाले समयमै उच्च सतर्कता अपनाउन सकिने उनको भनाइ छ।

    नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित बाधखोरतर्फ जाने उकालोमा पुग्न केही ढिला भएको भए आफूहरू पनि नदीमा बगेर सम्पर्कविहीन हुने अवस्थामा पुग्न सक्ने उनले बताएका छन् ।

    ज्यान जोगाउँदै बाधखोरतर्फ पुगेपछि स्थानीय वडा अध्यक्ष र नगर प्रमुखसँग सहयोगको अपेक्षासहित फोन गरे पनि अपेक्षित सहयोग नपाएको आचार्यको गुनासो छ। स्थानीय केही सहयोगी व्यक्तिको सद्भावका कारण राति अबेर काठमाडौंबाट गाडी मगाइएको र होटलमा कोठा बुक भएपछि मात्र आफूहरूले सुरक्षित महसुस गरेको उनले उल्लेख गरेका छन् ।

    आचार्यले विपद्का बेला राज्यका विभिन्न निकायबीच समयमै सूचना प्रवाह हुन नसकेको वा सूचना तल्लो तहसम्म प्रभावकारी रूपमा पुग्न नसकेको देखिएको भन्दै आगामी दिनमा पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याए।