


तनहुँ, १३ भदौ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा ट्रक र पिकअप गाडी एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ७ बजे दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको म.प्र.०३–००१ क ३८३६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको टमाटर बोकेको बा.प्र.०१–०२६ च ५६२९ नम्बरको पिकअप एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा पिकअप चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ का १९ वर्षीय आशन चेपाङ र सहचालक २१ वर्षीय कुमार चेपाङ घाइते भएका छन्। उनीहरू सवारीसाधनमा च्यापिएका थिए।
घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित २५ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले च्यापिएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको छ।
दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि सडकमा रहेका दुवै सवारीसाधन हटाइएपछि पृथ्वीराजमार्गमा यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।