बाढीपीडितलाई तनहुँका स्थानीय तह र कर्मचारीको रु ३२ लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीपीडितलाई तनहुँका स्थानीय तह र कर्मचारीको रु ३२ लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८३, शुक्रबार

    तनहुँ, १२ भदौ । रसुवा भोटेकोशी बाढीबाट प्रभावितका लागि तनहुँका स्थानीय तह र कर्मचारीले रु ३२ लाख भन्दा बढी सहयोग गरेका छन् । जिल्लास्थित चार स्थानीय तह, त्यहाँ कार्यरत कर्मचारी र कर्मचारी मिलन केन्द्र तनहुँको समेत गरी कूल रु ३२ लाख ८८ हजार नौ सय १७ सहयोग प्रदान गरिएको छ ।

    म्याग्दे गाउँपालिकाले गाउँपालिकाका तर्फबाट रु पाँच लाख, जनप्रतिनिधि र कर्मचारीका तर्फबाट रु आठ लाख २३ हजार नौ सय १७ गरी रु १३ लाख २३ हजार नौ सय १७ सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    ऋषिङ गाउँपालिकाको जनप्रतिनिधि कल्याण कोषबाट रु एक लाख, गाउँपालिकाका कर्मचारीका तर्फबाट रु चार लाख ३८ हजार गरी रु पाँच लाख ३८ हजार सहयोग गरेको प्रवक्ता विजय दरैले जानकारी दिए ।

    व्यास नगरपालिकाले रु पाँच लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ । व्यास नगरपालिका विपद् पुनःस्थापना कोषबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । साथै नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीका तर्फबाट पछि निर्णय भएबमोजिम थप सहयोग गरिने उनले उल्लेख गरे ।

    शुक्लागण्डकी नगरपालिकाले रु सात लाख ५५ हजार सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका तर्फबाट थप सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए ।

    यस्तै कर्मचारी मिलन केन्द्र तनहँुले रु एक लाख २१ हजार राहत कोषमा जम्मा गरेको छ । कर्मचारीका तर्फबाट विपद् उद्धारका लागि सहयोग गर्ने उद्धेश्य सहित रकम प्रदान गरिएको केन्द्रका अध्यक्ष मनोज रानाभाटले जानकारी दिए ।