


रसुवा, २५ भदौ । चिलिमे जलविद्युत आयोजनाको पावर हाउसमा फसेका भनिएका व्यक्तिहरूको उद्धारका लागि प्रयास तीव्र बनाइएको छ। तनहुँ–२ का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले ‘आशा नमारौँ, उद्धारको प्रयास नरोकौँ’ भन्दै सुरुङभित्र जीवनको सम्भावना अझै जीवित रहेको बताएका छन्।
न्यौपानेका अनुसार अस्थायी सडकलाई सुरुङको मुखसम्म पुर्याएर Excavator र Wheel Loader मार्फत २४ घण्टा लेदो हटाउने योजना रहे पनि विद्युत् जडानमा भएको ढिलाइ, पहिरो, दलदल तथा Blasting सम्बन्धी गतिविधिका कारण सडक विस्तारको काम अपेक्षाअनुसार अघि बढ्न सकेन। आज थप दुई Excavator साइटमा पुगेका छन् भने सडक सुरुङको मुखभन्दा करिब ४० मिटर मात्रै टाढा रहेको उनले जानकारी दिएका छन्।
नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले Manual रूपमा लेदो पन्छाउने, आवश्यक Controlled Blasting गर्ने तथा सडक विस्तारको कामलाई निरन्तरता दिइरहेको न्यौपानेले बताएका छन्।
धुन्चेमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी, नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर, नेपाली सेना, भारतीय सेनाका प्रतिनिधि, सागर ढकाल र न्यौपाने सहभागी थिए। Blasting गर्दा जोखिम बढ्न सक्ने तथा सुरुङभित्र ठूलो परिमाणमा पानी Trap भएर Pressure मा रहेको हुनसक्ने विषयमा छलफल भएको थियो।
न्यौपानेले आफ्नो १२ वर्षको Blasting अनुभवका आधारमा आवश्यक सावधानी अपनाएर गरिएको Controlled Blasting ले उद्धारमा बाधा नभई गति बढाउन सक्ने धारणा बैठकमा राखेको बताएका छन्।
प्राधिकरणका इन्जिनियरले सुरुङभित्र प्रति सेकेन्ड करिब ९ लिटर Seepage Water आइरहेको आधारमा ठूलो परिमाणमा पानी Trap भएको हुनसक्ने आशंका व्यक्त गरे पनि त्यसमा आफ्नो प्राविधिक विमति रहेको न्यौपानेको भनाइ छ। उनका अनुसार Power House को संरचना, हावाको दवाब, पानीको सम्भावित बहाव र धरातलीय अवस्थालाई हेर्दा २४ हजार घनमिटर पानी Trap भएर बसेको सम्भावना प्राविधिक रूपमा न्यून देखिन्छ।
उनले Seepage Water को सम्भावित बहावबारे विभिन्न प्राविधिक सम्भावना प्रस्तुत गरेका छन्। सुरुङमा भरिएको लेदोको दबाबले पानीको बाटो बन्द भएर पानी फर्किएको हुनसक्ने, लेदो तथा अन्य सामग्रीका कारण बनेका खाली स्थानबाट पानी Tailrace Tunnel हुँदै बाहिरिएको हुनसक्ने वा पानी कुनै सीमित खाली स्थानमा जम्मा भएको हुनसक्ने उनको विश्लेषण छ। Tailrace Tunnel को Outlet बाट निरन्तर सङ्लो पानी बाहिर निस्किरहेको अवस्थाले समेत पानी बाहिरिने सम्भावनालाई बल पुग्ने उनको भनाइ छ।
बैठकपछि सुरुङको Crown बाट लेदो पन्छाउँदै उद्धार अघि बढाउने तथा आवश्यक Blasting लाई सावधानीपूर्वक निरन्तरता दिने निष्कर्षमा पुगेको न्यौपानेले बताएका छन्। त्यसपछि कुलमान घिसिङसहित विज्ञ टोली पनि साइटमा पुगेको र सुरक्षा निकायसँगको छलफलपछि उद्धार तथा लेदो हटाउने कामलाई निरन्तरता दिन सकिने निष्कर्ष निकालिएको उनले जानकारी दिएका छन्।
न्यौपानेका अनुसार Power House को माथिल्लो भाग मानिसका लागि सम्भावित सुरक्षित स्थान हुनसक्छ। त्यहाँ ९२ वटा ठूला Battery, भान्छा, चामल, दाल, चिनी, चियापत्ती लगायत खाद्य सामग्री तथा करिब १ हजार लिटर क्षमताको खानेपानी ट्यांकी रहेको जानकारी प्राप्त भएको छ।
बाढीका कारण माथिल्लो भागमा Trap भएको हावा तथा अक्सिजनको अवस्था कायम रहेको भए फसेका ६ जना लामो समयसम्म जीवित रहन सक्ने सम्भावनालाई नकार्न नहुने न्यौपानेको भनाइ छ। उनले आफ्नो प्राविधिक विश्लेषणका आधारमा ३–४ हप्तासम्म जीवित रहन सक्ने सम्भावना समेत रहेको बताएका छन्। यद्यपि यसको वास्तविक पुष्टि उद्धार कार्य सम्पन्न भएपछि मात्र हुने उनले स्पष्ट पारेका छन्।
उनले उद्धार टोली, सुरक्षा निकाय र प्राविधिकहरूलाई अन्तिम सम्भावनासम्म प्रयास जारी राख्न आग्रह गरेका छन्।