विदेशमा रहेर आफू अध्ययन गरेको विद्यालयको चिन्ता, खानेपानी समस्या समाधानका लागि इन्दु माविलाई १ लाख २५ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विदेशमा रहेर आफू अध्ययन गरेको विद्यालयको चिन्ता, खानेपानी समस्या समाधानका लागि इन्दु माविलाई १ लाख २५ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०८३, बिहीबार

    तनहुँ, २५ भदौ । विदेशमा रहेर पनि आफ्नो गाउँठाउँ र विद्यालयको आवश्यकता सम्झने मन कमै हुन्छ। विद्यालय छाडेर वर्षौं टाढा पुगे पनि आफूले पढेको विद्यालय र त्यहाँका विद्यार्थीप्रतिको माया भने टाढा हुँदैन भन्ने उदाहरण प्रस्तुत गरेका छन् व्यास नगरपालिका–६  निवासी हाल अमेरिकामा रहेका रेवती रमन न्यौपानेले ।

    हाल संयुक्त राज्य अमेरिकामा रहेका रेवती रमनले आफूले अध्ययन गरेको विद्यालय व्यास ६ अम्रेनी स्थित इन्दु माध्यमिक विद्यालयमा स्वच्छ र सुरक्षित खानेपानीको व्यवस्थापनका लागि रु. १ लाख २५ हजार आर्थिक सहयोग गरेका छन् । विद्यालयका प्रधानाध्यापक सन्तोष न्यौपानेको समन्वयमा उनले उक्त रकम सहयोग गरेका हुन् । प्राप्त सहयोगले डुडे खोलाबाट विद्यालय परिसरमा खानेपानी ल्याउन आवश्यक मूल व्यवस्थापन, पाइपलाइन तथा आधुनिक पानी शुद्धीकरण प्रविधियुक्त युरोगार्ड जडानलगायतका काम गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष न्यौपानेले जनाएका छन् ।

    विद्यार्थीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीजस्तो आधारभूत आवश्यकताका लागि पूर्व विद्यार्थीले विदेशमा रहेर गरेको सहयोगलाई विद्यालय परिवारले महत्वपूर्ण र प्रेरणादायी मानेको छ। आफूले ज्ञान र शिक्षा आर्जन गरेको विद्यालयका वर्तमान विद्यार्थीको सुविधा र स्वास्थ्यमा सहयोग पुर्‍याउने उनको प्रयासले पूर्व विद्यार्थी र विद्यालयबीचको सम्बन्धलाई पनि थप अर्थपूर्ण बनाएको प्रधानाध्यापक न्यौपानेले बताएका छन्।

    विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक–कर्मचारीका लागि स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानीको पहुँच सुनिश्चित गर्न सहयोगले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विद्यालयको शैक्षिक तथा भौतिक विकासप्रति पूर्व विद्यार्थी न्यौपानेले देखाएको सद्भाव र सामाजिक उत्तरदायित्व विद्यालय परिवारका लागि अनुकरणीय बनेको विद्यालयका सहायक प्रधानाध्यापक बालचन्द्र वाग्लेले बताएका छन् । विद्यालय परिवारले पूर्व विद्यार्थी न्यौपानेप्रति हार्दिक आभार व्यक्त गर्दै न्यौपानेको सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको कामना गरेको छ।