


तनहुँ २ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने गाउँ–नगर अधिवेशनलाई लक्षित गर्दै व्यास नगर सभापतिका लागि सरोज भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार व्यास नगरपालिका–४ मा आयोजित नेपाली कांग्रेसको वडा भेलामा भण्डारीले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
व्यास–४ का निर्वाचित वडा सदस्यसमेत रहेका भण्डारीले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यसहित नेतृत्वका लागि अघि बढेको बताएका छन्।उम्मेदवारी घोषणा गर्दै भण्डारीले पार्टी संगठनलाई बलियो बनाउँदै कांग्रेसप्रति युवाको आकर्षण बढाउने तथा अग्रज नेताकार्यकर्ताको अनुभव, योगदान र भूमिकालाई सम्मान गर्दै अघि बढ्ने धारणा राखेका छन्।
उनले पार्टीभित्र पुस्ताबीचको समन्वयलाई प्राथमिकता दिँदै नयाँ पुस्तालाई संगठनमा सक्रिय रूपमा जोड्ने वातावरण निर्माण गर्ने बताएका छन्।भण्डारीले नगरका सबै वडा तहसम्म संगठनलाई प्रभावकारी बनाउने, कार्यकर्तासँग नियमित संवाद र समन्वय गर्ने तथा पार्टीका गतिविधिलाई जनतासँग जोड्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।